लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उदघाटन गरिएको छ । आज बुधवार सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले कार्यालयको उदघाटन गर्नुभएको हो ।
उदघाटन पछि मन्त्रालयले सवै सेवा राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउदै मन्त्री थारुले अव छिटो भन्दा छिटो अन्य मन्त्रालयको सेवा पनी स्थायी राजधानीबाटै सुरु गर्ने बताउनु भएको छ ।
मन्त्री थारुले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलता संगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनु भएको छ । संघ सरकार र प्रदेश सरकारको निति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउदै स्वास्थ्य सेवामा मध्यकालिन तथा दिर्घकालीन रणनितिका साथ काम भै रहेको बताउनु भएको छ ।
सो अवसरमा राज्यमन्त्री विमला कुमारी खत्रीले मन्त्रालयको काम सुरु भए संगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताउनु भएको छ ।
स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताउनु भयो । निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रवन्ध गर्दै मन्त्रालयलाई पुर्ण रुपमा सेवा दिन तयार बनाईने बताउनु भयो । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, निति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रुत रुपमा लागिरहेको देवकोटाले बताउनु भयो ।राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आफुहरुले स्थायी राजधानीका लागि सबै कुरा जोखीममा राखेर सहयोग गरेको बताउदै विस्तारै विकासले गति लिन थालेको बताउनुभयो ।
राजधानी ब्यवस्थापनका लागि स्थानिय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताउनु भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख अंगद बहादुर शाही, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावत लगाएतले बोल्नु भएको थियो ।