२०७८ माघ ३ गते सोमवार
२०७८ माघ ३ गते सोमवार

रुकुमपूर्व अस्पतालमा सुरक्षित गर्भपतन र रेबिज भ्याक्सिन सेवा सुरू

रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा पनि सुरू भएको छ। उक्त सेवा मंगलबारदेखि सुरू गरिएको हो।

अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताइन्। जिल्लामै स्वास्थ्य बिमा सेवाले मुख्य रूपमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिल्ने बरालको भनाइ रहेको छ। उनले सबै घर परिवारले स्वास्थ्य बिमा गरी स्वास्थ्य उपचार सेवा लिन अनुरोध समेत गरिन्।

नयाँ सेवा प्रवाहलाई अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तदरूकताका साथ सेवा दिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले बताइन्।

पाँच सदस्य रहेको एक घरपरिवारले एक वर्ष अवधिका लागि ३ हजार ५०० रुपैयाँको बिमा गरे एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार गर्न पाउने छन्। यसैगरी पाँच सदस्यभन्दा धेरै सदस्य रहेको घरपरिवारले प्रतिव्यक्ति ७०० रुपैयाँका दरमा बिमा गर्ने र एक लाख रुपैयाँसँगै थप प्रतिव्यक्ति २० हजार रुपैयाँका दरमा स्वास्थ्य उपचार गर्न पाउने स्वास्थ्य बिमा दर्ता अधिकृत सपना पुन विष्टले जानकारी दिइन्।