२०७९ जेष्ठ ३ गते मङ्गलवार
२०७९ जेष्ठ ३ गते मङ्गलवार

सुर्खेतमा निसासिएर एकै घरका ४ जनाकाे मृत्यु

सांकेतिक तस्वीर ।

सुर्खेतमा निसासिएर एकै घरका ४ जनाकाे मृत्यु भएकाे छ । वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा एकैघरका चार जनाको घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा निसासिएर उहाँहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ ।
जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उहाँका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

घटना अस्ति शुक्रवार रातिकै भए पनि हिजो बेलुका मात्रै थाँहा भएको थियो । हिजो बेलुका सूचना पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।