२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

‘शान्तिनगर गाउँपालिका : ‘विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा, गर्भवतीलाई निशुल्क भिडियो एक्सरे सेवा’

शान्तिनगर गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षले पदभार ग्रहण गरेका छन् । शान्तिनगर गाउँपलिका अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बुढाथोकी केसीले आज एक कार्यक्रमका विच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष बस्नेतले पहिलो निर्णय शान्तिनगर गाउँपालिका भित्रका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गराउने निर्णय गरेका छन् । शान्तिनगर गाउँपालिकामा आर्थिक अभावमा विपन्नता भएका व्यक्तिहरुले औषधी उपचार गर्न नपाएर रोग पालेर बस्न बाध्य भएको भन्दै निशुल्क स्वास्थ्य विमा उपलब्ध गराउने निर्णय अध्यक्ष बस्नेतले बताए । यसैगरी गर्भवती महिलाको स्वास्थ्य जाँचका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने समेत निर्णय गरिएको छ । शान्तिनगर गाउँपालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । शान्तिनगर गाउँपालिकामा सुत्केरी तथा गर्भवती महिलालाई पोषण तथा भत्ता दिदै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिने र थप गर्भवती महिलाको स्वास्थ्य जाँचका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने निर्णय पनि भएको अध्यक्ष बस्नेतले बताए । पदभार सम्हाल्दै शान्तिनगर गाउँपालिकाको समग्र विकासमा विशेष ध्यान दिदै अगाडि बढ्ने उनले बताए । सबैसंग सहकार्य र सल्लाहका साथ शान्तिनगर गाउँपालिकालाई प्रदेशकै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।