२०७९ असार १७ गते शुक्रवार
२०७९ असार १७ गते शुक्रवार

ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेकाे हाे : प्रचण्ड

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (क. प्रताप) को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए।

अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको टिप्पणी गरे। उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेकिरासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गरे।

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरे।

‘कतिपय बेला कयौँ भ्रमहरु सिर्जना हुने र त्यसले जनतालाई प्रश्न उब्जाउँछन्। हामीले त्यसलाई जवाफ दिने पनि गरेको छौँ। अहिले फेरि एकपटक कुनै न कुनै रुपले राष्ट्रवादको झुटो र राष्ट्रवादको बडो पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि हामीले देखेको हो। जो सबैभन्दा बढी आत्मसमर्पण गर्नेतिर जान्छन्, उनीहरुले नै राष्ट्रवादको बढी धावा दिने गरेको अनुभव नेपाली जनतालाई छ’, उनले भने।

हिजोआज पनि एउटा प्रश्न एसपीपी भन्ने हुँदैछ, सैनिक सम्झौता भइसक्यो भनेजस्तो गरी प्रचार गरिएपनि त्यो विल्कुल गलत रहेको उनले बताए।

‘म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन। प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैन’, अध्यक्ष प्रचण्डले भने।

एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको उनले बताए।

‘यो कुरा हामी सबैले बुझ्न जरुरी छ। तर हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधिनताको पक्षमा, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ’, अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष दाहालले गठबन्धन सरकार एसपीपी जस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए।