२०७९ साउन १९ गते बिहिवार
२०७९ साउन १९ गते बिहिवार

तुलसीपुरमा सडक खन्ने क्रममा दुई सय बर्ष पुराना चाँदीका सिक्का भेटिए

दाङको तुलसीपुरमा सडक खन्ने क्रममा दुई सय बर्ष पुराना चाँदीका सिक्का भेटिएका छन् । बिहीबार उपमहानगरपालिका–४ रक्षाचौरमा स्थित गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक खनिरहेका थिए ।

सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको छ । त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्का भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिएका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए । सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दा सुवासकै घरमा लुकाइ राखेको अवस्थामा बरामद गरेको हो ।

अनुसन्धनकै क्रममा सातवटा सिक्टा घरमा भुइँमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोजतलास गर्न सहज भएको थियो । सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।