२०७९ असार १८ गते शनिवार
२०७९ असार १८ गते शनिवार

(एसईई) को नतिजा असार मसान्तभित्र सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । साथै उहाँले प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले पनि असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको उहाँको भनाइ छ ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ । यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

२ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो ।