२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया

 

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । आँखाको क्यान्सर शरीरका विभिन्न भागमा फैलिदै गरेको अवस्थामा आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेका हुन् । यो अप्रेसन साबिक राप्ती अन्चलमै पहिलो हो ।

आखाँमा ट्युमर पलाई लामोसमयदेखि पिडित रहेका तुलसीपुर १४ निवासी प्रेमबहादुर वलीको आँखाको क्यान्सरको अप्रेसन गरीएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिए । बिरामी वलीको अर्को आँखा नहुँदा दृष्टिविहीन बन्न पुगेका छन् ।

भरतपुर क्यान्सर अस्पतालसहित विभिन्न अस्पतालहरुमा बिरामीको उपचार हुन नसकेर राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहाँ कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा. सुरेश रसाइलीको नेतृत्वले नेत्र चिकित्सक, असिस्टेण्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा. कुन्दन घिमिरेहरुको टोलीले प्रतिष्ठानमा बिरामीकोे आँखाको गेडी लगायत सबै क्यान्सर निकालेर अप्रेसन गरेको हो ।

बिरामी विभिन्न अस्पतालबाट रिफर हुँदै आएको र हाइ रिस्कमा हुँदा हुँदै पनि आफुहरुले प्रतिष्ठानमा सफल अप्रेसन गरेको अप्रेसनमा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताए । बिरामीको रगतको मात्रा कमी, क्यान्सरको औषधि सेवन गरीरहेको, रगतमा प्रोटिनको कमी भएको अवस्थामा अस्पतालमा भर्ना भएको र त्यसपछि २ पोका रगत चढाई रगतको मात्रा बढाएर जेनरल एनेस्थेसियाको सहयोगमा नदुख्ने सुई लगाएर जटिल प्रकृतिको अप्रेसन गरिएको उनले जानकारी दिए ।

आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया भएपनि पुरै बेहोस बनाएर शल्यक्रिया हुँदैनन् । प्रतिष्ठानमा एनेस्थेसियासहीतका चिकित्सक र पुरै अत्याधुनिक अप्रेसन कक्ष भएकाले पनि अप्रेसन गर्न सहज भएको डा। रसाइलीले बताए । आँखाको क्यान्सर फैलिए पश्चात बिरामीको दिमागमा र अन्य शरीरका भागहरुमा असर गर्ने भएकाले बिरामीको जिवन बचाउनका लागि अप्रेसन गरीएको प्रतिष्ठानले जनाएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरु थपिदै जानुका साथै अत्याधुनिक अप्रेसन कक्षहरु सञ्चालमा आएपछि सामान्यदेखी जटिल अप्रेसनहरु हुँदै आएका छन् ।