२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

ओलीका कारण ठूलो अवसर गुमायौं : नेता खनाल

फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग पाइनँ भन्नु ‘पागल–प्रलाप’ भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै खनालले त्यतिबेला प्रतिपक्ष पनि निदाएको अवस्थामा रहेको बताए। ‘त्यतिखेरको प्रतिपक्ष पनि निदाएको थियो । कतिपय नेता त संसदमै देखिँदैनथे। यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु केपी ओलीको पागल प्रलाप मात्रै थियो,’ उनले भने ।

ओलीले नेकपाको दुई तिहाइ नजिकको बहुमत भएको संसद भंग गरेर राजा महेन्द्रकै शैली देखाएको उनले पनि बताए । जसका कारण प्रगतिशील कानून र एजेन्डा ल्याउन सकिने सम्भावना भए पनि त्यो गुमेको खनालले दावी गरे । ‘त्यो संसद्‍मा नेकपाको दुई तिहाइको शक्ति थियो,’ उनले भने, ‘यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले ।’