२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

व्यवसाय संचालन गरेका अपाङगता भएका व्यक्तिलाई आर्थिक सहयोग

राप्ती बहिरा संघ दाङले विभिन्न पालिकामा व्यवसाय संचालन गरेका अपाङगता भएका व्यक्तिलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा कानु महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश बुटवलको सहयोगमा ‘समुदायमा आधारित पुनस्थापना (CBR) कार्यक्रम अन्तर्गत दाङ जिल्लाका विभिन्न पालिकामा बसोबास गर्ने विभिन्न पेशा व्यवसाय सञ्चालन गरिरहेका तथा सिप सिकेर आर्थिक अभावले व्यवसाय सञ्चालनमा अप्ठ्यारो अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपले सशक्त बनाई स्वरोजगार गराउने मुख्य उद्देश्यले आयमूलक व्यवसाय तथा सिपमूलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । दाङ जिल्लाका तुलसीपरु उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका लगायतका पालिकामा रहेका १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग रकम संस्थाका कार्यकारी निर्देशक प्रतिमा शर्माद्वारा हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्दै निर्देशक शर्माले अपाङ्गता भएर पनि स्वरोजगार बन्न र आत्मनिर्भर बन्न चाहने अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थाले संधै साथ दिने र आर्थिक सशक्तिकरण गर्नका लागि र समुदायमा पुनस्थापना गराउनका लागि राप्ती बहिरा संघ दाङले आफ्ना कार्यक्रमहरु अगाडी बढाउने बताएकी थिईन ।
राप्ती बहिरा संघ दाङका उपाध्यक्ष रुपा विकको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा नै पुनर्स्थापित गराउन र आर्थिक रुपले सशक्तिकरण गर्न यस्ता खालका सहयोगका कार्यक्रम कोसेढुङ्गा सावित हुने बताउँदै अपाङ्गता भएका व्यक्तिहरुले हिनता बोध नगरी आफुसँग भएको सिपलाई बाहिर निकालेर समाजमा उद्धाहरण प्रस्तुत गर्नुपर्ने कुरामा जोड दिएकी थिईन् ।

सो कार्यक्रमबाट सहयोग रकम प्राप्त गर्ने तुलसीपुर ७ पर्सेनीमा बस्ने ईन्द्र बहादुर सार्कीले आफु कम्मर मुनीको भाग चलाउन गाह्रो हुने शारीरिक अपाङ्गता भएको व्यक्ति भएर पनि पर्सेनीमा ईन्द्र छाला जुत्ता पसल खोलेर दैनिक जीविकोपार्जन गरिरहेको बताउदै सार्कीले राप्ती बहिरा संघ मार्फत सहयोग पाउँदा आफु हर्षित भएको बताए । यस्तै तुलसिपुर १४ ड्वाङपुर बस्ने रमा चौधरी जो शारीरिक रुपले अपाङ्गता भएकी व्यक्ति हुन् उनले पनि संस्थाबाट प्राप्त सहयोग रकमले आफ्नो ट्रेलरमा कपडा खरिद गरेर सिलाएर बेच्ने र आफनो व्यवसायलाई अझै राम्रो बनाउने बताइन । तुलसीपुर १५ बस्ने रम्बा वली आफु शारीरिक अपाङ्गता भएर पनि आफुले घरपरिवार र भाइबहिनीहरुलाई रेखदेख गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको र आफुले उनबाट विभिन्न किसिमका डिजाईका सामग्री बनाउन साथै कटाइसिलाई गर्न सिकेको र आर्थिक अभावले व्यवसाय सञ्चालन गर्न कठिनाई भईरहेको अवस्थामा राप्ती बहिरा संघ दाङले सहयोग रकम आफुलाई दिएकोमा निकै खुशी भएको बताईन् । अन्य सहयोग रकम प्राप्त गर्ने सबै अपाङ्गता भएका व्यक्तिहरु हर्षित देखिन्थे ।

मुख्य गरेर कटाईसिलाई, किराना पसल, पानीपुरी चाट पसल, बंगुर पालन गर्नका लागि आफुहरुलाई सहयोग हुने उनिहरुले बताएका थिए । कार्यक्रममा अपाङ्गता सञ्जाल तुलसीपुरका अध्यक्ष तिलसरा पुन, ज्ञानु खड्का लगायतले आफ्नो विचार व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वसन्ती वलीले गरेकी थिईन ।