२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

सरुवा रोगको जोखिम रोकथामका लागि पूर्व तयारी थाल्न आग्रह

सरुवा रोगको जोखिम बढेसँगै यसको रोकथामका लागि पूर्व तयारी थाल्न स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशन दिएको छ । मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् र खानेपानी दूषित भइ हैजा जस्ता सङ्क्रामक रोग फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले रोकथाममा जुट्न निर्देशन दिएको हो ।

मन्त्रालयले विज्ञप्ति निकालेर जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आ–आफ्ना ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै, महामारी लगायतको प्रतिकार्यका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शय्याको व्यवस्थापन गर्न, औषधि उपकरणको तयारी गर्न अस्पतालहरुलाई भनिएको छ ।

यस्तै, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (पीएचईओसी) सँग सवन्वय गर्न पनि भनिएको छ । अहिले हैजा, झाडापखालासँगै कोरोना भाइरसको सङ्क्रमणका बिरामी बढ्दै छन् । यस्ता सरुवा रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । खाना खानुअघि र दिसा गरेपछि साबुन पानीले हात धुन तथा मास्क लगाएर मात्र हिँडडुल गर्न मन्त्रालयको आग्रह छ ।