२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

त्रिशुली नदीमा माइक्रो खस्दा १८ जना घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटना लगत्तै तीन जनाको अवस्था गम्भीर रहेपनि दुई जनाको स्वास्थ्य अवस्था अहिले सुधार भएको अस्पताल प्रशासनले जनाएको छ।

सोमबार दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो।

घाइतेमध्ये १४ जना मुक्तिनाथ विकास बैंकका कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरु भरतपुरमा कार्यक्रम सकेर धादिङ फर्किदै थिए। अन्य दुईजना बीच बाटोबाट चढेका मामा भान्जी नाताका यात्रु र अर्का दुईजना गाडीका चालक र सहचालक रहेका प्रहरीले जनाएको छ।