२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

सप्तकोशीमा हाइअलर्ट जारी

फाइल तस्वीर

सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक बृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । प्रजिअ यादवले नदीको बराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाइअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । बराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकालेसमेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए ।

प्रजिअ यादवले उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत सतर्कता बढाइएकोे बताए । यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाइअलर्ट जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइअलर्ट जारी गरिएको बताए ।

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाब धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहाबलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।