२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

मलेसियाका पूर्व प्रधानमन्त्री रजाकलाई भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ । मंगलबार मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो ।

६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो । उनीविरुद्ध वान एमडीबीअन्तर्गतको एसआरसी इन्टरनेसनलसँग अवैधानिक रूपमा १ करोड अमेरिकी डलर लिएको आरोप समेत लागेको थियो ।

मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गरेको हो । उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ । प्रधानन्यायाधीश तेंग्कु माइमन तुआन म्याटले नजिबको पुनरावेदन सर्वसम्मतिले खारेज गरेको बताएकी थिइन् ।

अभियोजनकर्ताहरूले नजिब सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको बताएका थिए । त्यसमध्ये १ अर्ब अमेरिकी डलर नजिबको खातामा भेटिएको उनीहरूले प्रमाण पेस गरेका थिए ।

नजिबका वकिलले साउदी शाही परिवारबाट उक्त रकम प्राप्त भएको र राज्यकोष दुरुपयोग नगरेको जिकिर गरेका थिए । साथै उनीहरूले आर्थिक सल्लाहकारले झुक्याएको समेत बताएका थिए । डनजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र करछलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । उनको मुद्दामा उच्च अदालतले आगामी सेप्टेम्बर १ मा फैसला सुनाउँदै छ ।