२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

बन्दसूचीमा देउवाले मनोमानी गरेको भन्दै कोइराला समूह आन्दोलित

संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुरले आगामी निर्वाचनका लागि समानुपातिकको बन्दसूचीमा मनोमानी गरेको भन्र्दै संस्थापन इतर समूहले आन्दोलन घोषणा गरेको छ । संस्थापनइतर समूहमा शेखर कोइराला, गगन थापा लगायत नेताहरु छन् । यस समूहको दोस्रो पुस्ताका नेताहरूको भेलाले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा पार्टी नेतृत्व (देउवा) ले मनोमानी गरेको भन्दै धर्ना लगायत विरोधका कार्यक्रम सुरु गरेको हो ।

आज बिहान ठमेलस्थित होटल यात्रीमा कोइराला समूहको अलग्गै बैठक बसेर समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । सोही अनुसार १२ गते बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा २ घण्टाजति धर्ना दिने जनाइएको छ । समानुपातिकको बन्दसूची सच्याउन र आफ्नो समूहका नेताहरुको नाम समेत समावेश गर्न यस समूहले माग गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग समेत अघि सारेको छ ।

यस समूहले असोज १३ गते संस्थापन इतरका मुख्य नेताहरुको भेला र छलफल समेत बोलाएको छ । डा. शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्व–सहमहामन्त्री अर्जुननरसिंह केसी लगायतका नेतासँग बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा थप छलफल गरेर अघि बढ्ने जनाइएको छ । माग सम्बोधन नभएमा त्यसपछि कडा आन्दोलनमा जाने उनीहरुको तयारी छ ।