२०७९ मङ्सिर ८ गते बिहिवार
२०७९ मङ्सिर ८ गते बिहिवार

सल्यानको कपुरकोटमा जीप दुर्घटना : ८ जनाको ज्यान गयो, १ जना घाइते

सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट बिहे भोज खाएर सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप आज बिहान कपुरकोट–३ मूलपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललित वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वली रहेका छन । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।