२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भारतमा वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल

भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ ।

साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।

धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडीलाई चलाउन रोक लगाइएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।

विज्ञले दूषित हावा बालबालिका र वृद्धवृद्धाका लागि निक्कै खतरनाक रहेको बताएका छन् । प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।