२०७९ फाल्गुन २७ गते शनिवार
२०७९ फाल्गुन २७ गते शनिवार

दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा दिपक गिरी विजयी

दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य दीपक गिरी विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल वलीलाई ७ हजार ८ सय १० मतको फराकिलो अन्तरले हराउदै गिरी विजयी भएका हुन् । विजयी गिरीले ३६ हजार ८ सय ४२ मत ल्याएका छन्, भने वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीे १५ हजार ३ सय मत ल्याएका छन् । गिरी दोस्रो पटक संसदमा प्रवेश गरेका छन् । गिरी २०५१ सालमा एमालेका शंकर पोखरेल हराउदै विजयी भएका थिए, भने २०६४ सालमा माओवादीका शुष्मा शर्मा घिमिरेसंग हार ब्यहोरेका थिए । २०७० सालको संविधानसभाको निर्वाचनमा भने गिरीले तत्कालिन एमालेका नेता दिवंगत उत्तरकुमार वलीलाई हराउँदै विजयी भएका थिए ।

२०७४ मा पुनः उनले तत्कालिन एमालेका जिल्ला सचिब हिराचन्द्र केसीसंग हार ब्यहोरेका थिए । अहिले पुनः एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीलाई हराउँदै विजयी भएका छन् । उनी पूर्व सिंचाई मन्त्री समेत हुँन् । सिंचाई मन्त्री हुँदा दाङमा बृहत दाङ उपत्यका सिंचाई आयोजनाको कार्यालय खोलेर चर्चा कमाएका थिए । गिरी पश्चिमदाङमा विकासप्रेमी नेताको रुपमा चिनिन्छन् । उनि सिंचाई मन्त्री हुँदा पश्चिमदाङमा विकास निकास भएका थिए । पश्चिमदाङमा नदिनाला तथा खोलामा तटबन्ध र विभिन्न नदि तथा खोलमा पक्की पुल निर्माण भएका थिए । यसैगरी तुलसीपुर – सुर्खेत सण्ड कालोपत्रे समेत भएको थियो । सिंचाई तथा डिपबोरिङ लगायत अन्य थुप्रै विकास काम भएका प्रमाण छन् । पश्चिमदाङका जनताले यसपटक पनि उनिबाट विकासको आशा लिएका छन् ।

उनीसंगै दाङ ३ अन्तर्गतका दुई वटै प्रदेशसभामा गठबन्धनले विजयी हाँसिल गरेको छ । क्षेत्र नं ३ (१) बाट कांग्रेस नेता डिल्लीबहादुर चौधरी र क्षेत्र नं ३ (२) बाट माओवादी केन्द्रका नेता धनबहादुर मास्की विजयी भएका छन् ।
यस्तै दाङमा ३ वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा सदस्य तथा ६ वटै प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धन विजयी भएका छन् । यस पटक दाङमा नेकपा एमाले क्लिन स्विप भएको छ ।