संघीय संसद सचिवायले नयाँ संसदका लागि भौतिक पूर्वाधारको तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको चुनाव प्रत्यक्षतर्फको धेरै नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिक पद्धतितर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।
सांसदहरु निर्वाचित भएर आउनुअघि नै सभाहलको मर्मत सम्भार सक्ने, रङरोगन गर्ने लगायतका काम गरेको छ । संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कहाँ कहाँ के के समस्याहरु छन् भनेर हेर्ने काम चलिरहेको बताए । ‘टुटफुट भएका र प्वाल रहे नरहेको हेर्ने कार्य भइरहेको छ’ उनले भने ।
निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म सबै व्यवस्थापनको काम सक्ने गरी काम गरिरहेको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । सिंहदरबारस्थित पुतली बगैंचामा नयाँ भवन पनि निर्माण भइरहेको छ । तर, नयाँ संसदको बैठक भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्नेछ ।
संसद सचिवालयका अधिकारीहरुका अनुसार नयाँ भवनमा तत्कालै संसद बैठक राख्न सम्भव छैन । आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने समय नै बाँकी छ । नयाँ भवनको भौतिक निर्माण नै नसकिएकाले पुरानै भवनमा बैठक बस्न लागेको हो । २०७६ असोज १ गते शिलान्यास भएको नयाँ भवन शहरी विकास मन्त्रालयले बनाइरहेको छ ।