२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

दाङमा एक व्यक्तिको बैंक खाताकाे दुई लाख बढि चोरी

दाङमा एक व्यक्तिको बैंक खातामा राखेको दुई लाख रकम चोरी भएको छ। मंगलबार बिहान दंगीशरण गाउँपालिका– ५ मिरौली घर भई हाल तुलसीपुरमा व्यवसाय गर्दै आएका ज्ञानबहादुर चौधरीको खाताबाट दुई लाख २० हजार रुपैयाँ चोरी भएको हो।

मंगलबार बिहान फेसबुक एनआइसी एसिया बैंक नामबाट म्यासेन्जरमा एक व्यक्तिले खातामा समस्या देखिएको भन्दै खाता बनाउनका लागि भन्दै खाता नम्बर र मोबाइल नम्बर मागेका थिए । बैंककाे फेसबुक भएकाे भन्दै चाैधरीले ती व्यक्तिलाई आफ्नो खाता नम्बर तथा मोबाइल नम्बर दिएका थिए । मोबाइल नम्बर र खाता दिएपछि केही समयमा मोबाइलमा ओटिपी कोड आयो। चौधरीलाई ओटिपी कोर्ड आफूभन्दा अरूलाई थाहा दिनुहुँदैन भन्ने थाहा थियो, तैपनि कर्मचारी नै हुँ भन्दै मागेपछि उनले त्यो कोर्ड दिए। ‘दुईपटकसम्म त कोड पनि दिइनँ, त्यो कोर्डको म्याद दुई मिनेटसम्म हुँदोरहेछ, त्यसपछि उताबाट फोन आयो, कर्मचारी भनेपछि विश्वास लाग्यो,’ उनले भने, ‘त्यसपछि दिएँ।’

उनले त्यो ओटिपी कोर्ड दिएको केही समयपछि दुई लाख २० हजार रुपैयाँ खाताबाट अन्तै पठाएको भन्ने म्यासेज आयो। त्यसपछि उनलाई त्यो खाताको रकम चोरी भएको भन्ने लाग्यो र खाता भएको एनआइसी एसिया बैंकमा खबर गरेका थिए ।