२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

७८ वर्षको उमेरमा नागरिकता

सांकेतिक तस्वीर ।

सोलुखुम्बुका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । २००१ साल चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।

आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँलाई पहिचान गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएको भएको थियो । जनप्रतिनिधिको पलहमा उहाँको नागरिकता बनेको हो । थुलुङ दूधकोसी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष प्रेमकुमार राई, वर्तमान वडाध्यक्ष चन्द्रबहादुर राई र सोताङ गाउँपालिका–१ का वडाध्यक्ष जङ्गगुरुङको पहलमा नागरिकता उहाँलाई उपलब्ध गराइएको हो । राई एक वर्षकै उमेरदेखि जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुमा अर्काको जग्गामा बस्दै आउनुभएको वडा कार्यालयका कम्प्युटर अपरेटर जेपी थुलुङले बताउनु भयो ।

जुबुका दोर्जे राईको जग्गामा डेरा बनाइ बसिरहनु भएका उहाँ नागरिकता नभएकै कारण सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो । अब भने उहाँले पाउने गरी सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिएको वडाअध्यक्ष चन्द्रबहादुर राईले बताउनुभयो ।