२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

चिसोका कारण सप्तरीमा एक जनाको ज्यान गयो

सांकेतिक तस्वीर ।

चिसोका कारण सप्तरीमा एक जनाको ज्यान गएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसोका कारण ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिनुभयो । ज्यान गुमाएका सदाको परिवारलाई खान लगाउन समेत समस्या छ । केही दिनयता सप्तरीसहित तराईका जिल्लामा शीतलहर चलेको छ ।

चिसो बढेपछि केही पालिकाहरुले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरी आगो बाल्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण हिजो धनुषामा एक जनाको ज्यान गएको थियो । तराईका जिल्लामा शीतलहर अझै एकरदुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा, सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोखिम धेरै हुन्छ । चिसोबाट जोगिन हिटर, कोइला तथा आगो ताप्दा सुरक्षित भने हुनुपर्छ । आगो ताप्दा आगलागीको सम्भावना हुने तथा हावा नछिर्ने गरी झ्याल ढोका बन्द गरेर हिटर र कोइला बाल्दा निसासिएर ज्यान जाने जोखिम हुने हुँदा सावधानी अपनाउन विज्ञको आग्रह छ ।