२०७९ माघ ३ गते मङ्गलवार
२०७९ माघ ३ गते मङ्गलवार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले शपथ लिएका हुन् ।

एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाज कल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्री र दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ । माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री बन्नुभएको छ । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ, धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बन्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । त्यही दिन नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । एमालेबाट दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले पनि त्यही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।