२०७९ माघ ९ गते सोमवार
२०७९ माघ ९ गते सोमवार

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ : अन्सारी र आलम पक्राउ

नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राष्ट्रिय टोलीका सदस्य समेत रहेका अन्सारी र राष्ट्रिय टोलीका पूर्व खेलाडी आलमलाई पक्राउ गरेको हो । थप एक जना पनि पक्राउ गरिएको छ । उनको भने नाम खुलाइएको छैन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।

खेलाडीले स्पट फिक्सिङको योजना अनुसार काम गरेको सीआईबीको दाबी छ । उनीहरुले नेपाल टी–२० क्रिकेटको व्यापारिक अधिकार पाएको सेभेन थ्रि स्पोर्ट्सका मालिकको योजनालाई सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ । सीआईबीले बेलैमा एक्सन लिएका कारण खेल मिलेमतो अर्थात् म्याच फिक्सिङ हुन नपाएको तर स्पट फिक्सिङ भने भएको सीआईबीले जनाएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा विदेशी खेलाडी समेतको सहभागितामा गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा नेपाल टी–२० क्रिकेट लिग भएको थियो ।

खेल मिलमतोको आशङ्का भएपछि सीआईबीले प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । पूरै खेलमा मिलेमतो गरेका प्रमाण कम रहेको तर क्याच आउट, रन आउट, चौका, छक्का लगायतका विषयमा खेलका अफिसियलसमेत मिलेमतोमा जोडिएको सीआईबीले जनाएको छ ।