२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

लुम्बिनी प्रदेशलाई हात्तीपाइले रोग मुक्त बनाउने लक्ष्य : मन्त्री पन्थी

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले आमनागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्न आग्रह गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको गेटमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेर अभियानलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशलाई हात्तीपाइले रोग मुक्त बनाउने लक्ष्य रहेको बताए । उनले लुम्बिनीका दाङ, बाँके र कपिलवस्तुमा अन्तिम पटक हात्तीपाइले रोग विरुद्धको अभियान संचालन गरेको बताए ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले यो अभियान अन्तिम पटक भएकाले सबैले सेवन गर्न आग्रह गरेका छन् ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । बिहीबार फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सन्चालन भएको छ ।

दुई वर्ष उमेर पूरा भएका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखेर औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले अनुरोध गरेको छ ।

औषधि सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने स्वास्थ्यकर्मीको भनाइ छ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।