२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगरमा ५५ प्रतिशतले हात्तीपाइलेकाे औषधि गरे सेवन

शान्तिनगर गाउँपालिकामा ५५ प्रतिशतले हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन गरेका छन् । गत फागुन ११ गते देखि सुरू भएकाे हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन राष्ट्रिय अभियान अन्तर्गत हाल सम्म शान्तिनगर गाउँपालिकामा ५५ प्रतिशत जनसंख्याले औषधी सेवन गरेकाे स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयाे ।
शान्तिनगर गाउँपालिकाले २६ हजार लक्षित वर्गलाई औषधी सेवनकाे लक्ष्य लिएकाे छ । २८ हजारकाे लक्ष्य भएपनि २ बर्षदेखि मुनिका बालबालिका, गर्भवती, ७ दिन भित्रकाे सुत्केरीले औषधी सेवन गर्न नमिल्ने भएकाले २६ हजारकाे लक्ष्य लिएकाे प्रमुख पुनले बताउनुभयाे ।

शान्तिनगरमा अभियानकै रुपमा आम औषधी सेवन अभियान संचालन गरिएकाे छ । हात्तिपाइले राेग लागेमा मानिसलाई अशक्त, अपाङ्ग बनाउने भएकाले यस राेगबाट बच्न औषधी सेवनले गर्नुपर्ने प्रमुख पुनकाे भनाई छ । औषधी सेवनले कुनै असर नगर्ने भएकाले ढुक्क भएर औषधी सेवन गर्न प्रमुख पुनले आग्रह गर्नु भयाे । कसै कसैलाई औषधी सेवन पश्चात सामान्य असर भएपनि आफै निकाे भएर जाने गर्दछ ।
हात्तिपाईले राेग निवारण आम औषधी सेवन अभियान घर घरसम्म पुर्याउन स्वास्थ्यकर्मी परिचालन तथा सन्देशमुलक प्रचार प्रसारलाई तिव्रता दिइरहेकाे छ । माइकिङ, पम्पलेट, रेडियाे, अनलाइन तथा सामाजिक संजालमा सन्देश मुलक प्रचार प्रचार गरिरहेकाे स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयाे ।