नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । सातै प्रदेशका राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको नेपाल जनमत पार्टीका नेता अब्दुल खाँले जानकारी दिए ।
आठ दलीय गठबन्धनको कार्यदलले आज सोमबार बसेको बैठकले १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । गठबन्धनको बनाउनुको औचित्य सांसदहरुलाई पुष्टि गरिने खाँले बताए ।
राष्ट्रपति निर्वाचनको अघिल्लो दिन (फागुन २४) संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेदवार पौडेल रहेका छन् भने एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई उठाएको छ । संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनको मतदाता हुन्छन् ।