२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

आज ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, शान्तिनगर र बबईमा कार्यक्रम

आज ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ। नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ। संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मानलगायतका विभिन्न कार्यक्रम गर्दैछन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विषेश कार्यक्रम गर्दैछ।

मन्त्रालयका प्रवक्ता यामलाल भुसालकाअनुसार प्रधानमन्त्री एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा बिहान ११ बजे कार्यक्रम हुँदैछ।

नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्। राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ। तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो छ। संघ र प्रदेश सरकार गठनमा पनि महिलाको सहभागिताको विषयमा आलोचना हुँदै आएको छ।
यता दाङमा पनि ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसमा विविध कार्यक्रमको ओजना गरिएको छ । दाङको बबई र शान्तिनगरमा कार्यक्रमको आयोजना गरिएको छ । शान्तिनगर गाउँपालिका वडा नं ५,६ र ७ वडाको आयोजना तथा विभिन्न संघसंस्थाको समन्वयमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा महिला लोकगित प्रतियोगिता, कुर्सी दौड, घैटा फोर, थारु नृत्य तथा झाकी प्रस्तुत गरिने भएको छ । यसैगरी वडा भित्रका श्रमिक महिलाहरुलाई सम्मान पनि गरिने भएको छ ।