२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

तुलसीपुरका श्रेष्ठ परिवारले आफ्नै बुहारीको गरिदिए कन्यादान

दाङको तुलसीपुरमा एक परिवारले आफ्नै बुहारीको कन्यादान गरिदिएकाे छ। बिहीबार तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको बर्दघाट नगरपालिका ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसँग कन्यादान गरि दिएका हुन् ।

श्रेष्ठ दम्पतीका छोरा सुविन श्रेष्ठको २०७४ साल कात्तिक ५ गते ३३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएपछि आरती एकल भएपछि उनलाई छोरीका रुपमा स्वीकार गरिएकाे थियो । सुविन क्यान्सर रोगबाट पिडित थिए । छोराको मृत्यु भएपछि बुहारीलाई छोरीको रुपमा स्वीकार गरेर कन्यदान दिने कुरा नेपाली समाजमा बिरलै पाइन्छ । तर श्रेष्ठ परिवार समाजका लागि उदाहरणीय बनेको छ । आफ्नो एक्लो छोरो पनि सानै उमेरमा भगवानको प्यारो भएपछि एकल रुपमा रहेकी छोरी(बुहारी) आरतीको भविष्यलाई मध्यनजर गर्दै विवाह गर्न पाउँदा निकै खुशी भएको श्रेष्ठ परिवारले बताएको छ ।