२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

दाङका सार्वजनिक सवारी साधनमा भाडादरको सूची टाँस गर्नुपर्ने

फाइल तस्वीर ।

दाङमा चल्ने सबै सार्वजनिक सवारी साधनले अब भाडादरको सूची टाँस गर्नुपर्ने भएको छ । भाडादर तोकिए पनि यात्रुहरु सधै ठगीमा पर्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अब सबै सार्वजनिक सवारी साधनले अनिवार्यरुपमा भाडादरको सूची गाडीमा टाँस गर्नुपर्ने भएको हो । जिल्लास्तरीय अनुगमन तथा मूल्यांकन समितिको सोमबार प्रशासन कार्यालयमा बसेको बैठकले सार्वजनिक सवारी साधनहरु बस, जीप तथा अटोहरुले तोकिएको रुटहरुमा यात्रुहरुबाट लिनुपर्ने भाडादरको सूची बसपार्क र सम्बन्धित सवारीका साधनहरुमा सबैले देखिने गरी टाँस गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले कुनै पनि यात्रु ठगिएमा र दुव्र्यबहारमा परे तत्काल प्रहरीमा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ । बैठकमा घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख हुमाकुमारी डिसीले नागरिकहरुको स्वास्थ्यमा खेलवाड हुनबाट रोक्न कडाइका साथ नियमन हुन आवश्यक रहेकोमा जोड दिनुभयो । निर्णय हुने तर कार्यान्वयन नहुने प्रबृत्ति सरकारी निकायमा देखिएको भन्दै उहाँले एकीकृत अनुगमनले बेथिति र अनियन्त्रित बजारलाई रोक्नुपर्ने बताउनुभयो । त्यसैगरी दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले गलत गर्नेलाई कसैको दबाबबिना कारवाही गर्नै पर्ने बताउनुभयो ।