२०८० साउन २ गते मङ्गलवार
२०८० साउन २ गते मङ्गलवार

चरकमटियामा ७ दिने योग शिविर सुरु

दाङको बबई गाउँपालिका ७ को चरकमटियामा ‘मेरो स्वस्थ्य मेरो जिम्मेवारी, सधैंका लागी योग सबैको लागि योग’ भन्ने नाराका साथ ७ दिने योग शिविर सुरु भएको छ । बबई ७ को आर्थिक सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र बबई ६ पञ्चकुलेको आयोजनामा ७ दिनसम्म चल्ने शिविरको आईतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले नियमित योग गर्दा शरिर र मनभित्र रहेका बिकार बस्तु बाहिर आउने हुदा ब्यक्ति शारीरिक संगै मानसिक रुपमा स्वस्थ हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष क्षेत्रीले नियमित रुपमा योगमा जोडिन सबेरै सुत्ने र सबेरै उठ्ने बानिको बिकास गर्नुपर्नेमा समेत जोड दिनुभयो।

उद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारीले रासायनिक पदार्थको मिसावट युक्त खानेकुराले बालबालिका र युवा अवस्थामै जिन्दगीभर निको नहुने रोगको शिकार हुने क्रम बढिरहेको अवस्थामा योगको माध्यमबाट रोग निराकरण गर्न सकिने अपेक्षाका साथ योग शिविरको सुरुवात गरेको र यसलाई निरन्तर अगाडि बढाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

नियमित योग गर्दा कयौं रोगहहरु निको हुने बताउदै दाङ जिल्ला पतन्जली योग समिति दाङका सदस्य तथा योग शिबिरका प्रशिक्षक अम्मर भुषालले ७ दिन सम्म चल्ने योग शिबिरमा ७ वटा फरक फरक रोगहरुका बिरामीहरुले गर्ने योगका बिषयमा प्रशिक्षण दिईने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा बबई ७ का वडा सदस्य ईन्द्र डाँगी, वा नम्बर ७ का वडा सचिव मान बहादुर बस्नेत, सरस्वती माबि चरकमटियाका बिधालय ब्यबस्थापन समिति अध्यक्ष प्रेम बहादुर राम्जा, सामुदायिक रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी पतन्जली योग समिति शान्ति नगरका अध्यक्ष मीन बहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

७ दिन सम्म चल्ने योग शिबिरमा आज पहिलो दिन बबई गाउँपालिका वडा नम्बर ७ का विभिन्न स्गानका ४० जना प्रशिक्षार्थी सहभागीता रहेको थियोे । स्थानिय खिमलाल डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नागरिक आरोग्य सेवा केन्द्र बबई ६ पञ्चकुलेका प्रमुख बेलाराम भण्डारीले गर्नुभएको थियो ।