प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्तो योजना ल्याइएको जानकारी दिनुभयो ।
गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो । बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई पुरस्कार दिइने छ, उहाँले भन्नुभयो, यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने आशा लिएका छौँ । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताउनुभयो ।