काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर २ घर भई काठमाडौ ३ महाराजगञ्ज बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्य छन्। उनले आफूलाई डा. एस भट्ट आचार्य भनेर चिनाउँछन्। उनलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
प्रहरीले उनलाई काठमाडौंको बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकमा फेला पारेको हो। जहाँ उनले इन्डोग्रिनोलोजी कन्सल्टेन्टको रूपमा काम गर्ने गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। आफूलाई डाक्टर बताउने गरेका भट्टाचार्यले उक्त क्लिनिकसँगै नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेको प्रहरीले पायो। उनले उक्त पोलिक्लिनिकमा ९ महिना काम गरी करिब ६३० बिरामीको उपचार समेत गराएको पाइएको एसपी रेग्मीले बताए। यस क्लिनिकमा उपचार गराएबापत उनले ७५० रुपैयाँ लिने गरेको खुलेको छ।
यस्तै, धवलागिरीमा ४० जनाभन्दा बढीको उपचार गराएको खुलेको छ। त्यहाँबाट प्रति बिरामी उनले ५०० रुपैयाँ लिने गरेका थिए। यसरी उपचार गराउँदै आएका भट्टाचार्यले आफूले चीनबाट एमबिबिएस पढेको दाबी गरेका छन्। तर प्रहरीले त्यसबारे आधार प्रमाण माग गर्दा भने देखाउन नसकेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक निर्मलकुमार थापाले बताए। ‘हामीलाई उहाँले चीनबाट पढेको भनेर भन्नुभएको छ। तर हामीले प्रमाणपत्र देखाउनुस् भन्दा देखाउन सक्नुभएको छैन,’ उनले भने, ‘यहाँ उनले आफू टिचिङ अस्पतालमा काम गर्ने गरेको भनेर पनि भन्दै हिँड्नुहुन्छ। तर त्यस्तो गरेको पाइएन।’ भट्टाचार्यले प्रयोग गरेको नेपाल चिकित्सक संघ (एनएमसी) को नम्बर पनि अर्कै व्यक्तिको भएको प्रहरी निरीक्षक थापाले बताए।
प्रहरीले उनीबाट विभिन्न प्रमाणपत्र, कार्डहरू पनि बरामद गरेको छ। ती कार्ड र कागजातहरू सबै नक्कली नै भएको प्रहरीले दाबी गरेको छ। उनले नेपाल चिकित्सक संघ र टिचिङ अस्पतालको कार्ड बनाएको फेला परेको छ। त्यसैगरी विदेश जानेहरूको मेडिकल रिपोर्ट बनाउने गरेको पनि प्रहरीले जनाएको छ। यसो त पूर्व स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भएको प्रशंसा पत्र पनि प्रहरीले बरामद गरेको छ। उक्त प्रमाणपत्र नक्कली भएको प्रहरी निरीक्षक थापा बताउँछन्। ‘उनीबाट विभिन्न संस्थाको नाम प्रयोग गरिएका प्रशंसा पत्र, प्रमाणपत्र लगायत कागजातहरू बरामद गरेका छौं,’ उनले भने, ‘पूर्वमन्त्री उपेन्द्र यादवको हस्ताक्षर समेत भएको प्रमाणपत्र बनाएको पायौं।’ नक्कली डाक्टरले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न सक्ने भएकाले प्रहरीले उनीविरूद्ध इलाजसम्बन्धी कसुर र नक्कली कागजात खडा गरेको भन्दै लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।