शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर गाउँपालिकामा भेग अनुसारको उत्पादन गरी आयआर्जन गर्नुपर्ने बताउनु भएको छ । सोमबार शान्तिनगर गाउँपालिका ३ बस्तीखोलामा रहेको बस्तीखोला सिस्नो पाउडर उद्योगलाई पाउडर प्याकिङ मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनु भएको हो । वडा नं. ३ का वडाध्यक्ष निम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बस्नेतले शान्तिनगर गाउँपालिका दुई भेगमा बाँडिएको भन्दै उनले माथिल्लो भेगमा गर्ने उत्पादन र तल्लो भेगमा गर्ने उत्पादन फरक किसिमको हुने भएकाले स्थानीय उत्पादन गरी खेरा गइरहेको समयलाई व्यवासयमुलक आर्थिक आयआर्जन गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । ‘जहाँ जे व्यवसाय राम्रो हुन्छ, त्यो गर्नु पर्छ’, अध्यक्ष बस्नेतले भन्नुभयो ‘हाम्रो समयलाई त्यतिकै खेरा जानु दिनु हुँदैन । हामीले गर्ने व्यवसायले बजार पाउनुको साथै उचित मूल्य पाउनु पर्छ, भन्ने मान्यता पनि राख्नु पर्दछ ।’ उत्पादन भएका वस्तुहरू गाउँपालिका भित्र मात्र नभइ बाहिर पठाउन सके मात्र यहाँ आर्थिक भित्रिने र यहाँको आर्थिक उन्नति हुने भन्दै त्यसका लागि गुणस्तरमा ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले यहाँ उत्पादन भएको सिस्नो पाउडरको बजारिकरणको लागि गाउँपालिकाले भरपुर सहयोग गर्ने समेत बताए । यसैगरी गाउँपालिकाको कुन भेगमा कुन खेती गर्न सकिन्छ, भन्ने परियोजना शुरु हुन लागेको भन्दै माथिल्लो भेगमा अदुवा, टिमुर र बेसार खेती गर्न सक्ने सम्भावना रहेको उहाँको नाइ छ । यस्तै शान्तिनगरको वडा नं३ र १ को पहाडी भेगमा कफी खेती गर्न मिल्ने सम्भावना रहेको उहाँ को भनाइ छ ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रेमा ब्ुढाथोकी केसीले सिस्नो पाउडरले शान्तिनगर गाउँपालिकालाई चिनाउने बताउनुभयो । सिस्नो पाउडर उत्पादनले महिला उद्यमी बढाउने र यसले गर्दा महिला दिदी बहिनीलाई आयआर्जन सघाउने बताउनुभयो । सिस्नो पाउडर उत्पादनलाई संस्थागत प्रक्रियामा अगाडि बढाउन उपाध्यक्ष केसीले आग्रह गर्नुभयो । सरसफाई र गुणस्तरीय उत्पादनमा ध्यान दिन समेत आग्रह गर्नुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कँडेलले महिला उद्यमशिलतालाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उत्पादनलाई गुणस्तरीय बनाउदै बजारीकरण गर्नु आग्रह गर्नुभयो । बजारीकरण केहि समस्या भएपनि यसको प्रचारप्रसार र सक्रियताले बजारीकरण हुने बताउनुभयो ।
शान्तिनगर गाउँपालिका ३ बस्तीखोलामा सिस्नोको पाउडर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । गत वर्षदेखि आमा समुहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा आएको भएयता पनि उद्योगबाट उत्पादित बस्तुले बजार नपाएको समुहकी अध्यक्ष नन्दिका स्वर्णकारले बताउन्भयो । गाउँघरमा रहेका दिदीबहिनीले सिस्नो टिपेर उद्योगमा ल्याउन र त्यसलाई पाउडर बनाउने गरेको भएयता पनि बजार पाउन नसकेका बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कँडेल, कार्यपालिका सदस्य पार्वती घर्ती, डिकोस संस्थाका लघुउद्यम संयोजक भीम खत्री, ग्रीन फाउण्डेसन नेपालका प्रतिनिधि केपी भण्डारी लगायतको सहभागिता रहेको थियो । उद्योगलाई उक्त मेसिन युके एडको आर्थिक सहयोगमा र डिकोसको समुन्नति परियोजना मार्फत हस्तान्तरण गरिएको थियो ।