२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

अग्निपीडितलाई दंगिरशण गाउँपालिकाद्धारा राहत वितरण

दंगीशरण गाउँपालिका–२ का अग्निपीडितलाई गाउँपालिकाले राहत उपलव्ध गराएको छ । दंगीशरण–२ का गीता कुमारी बिक तथा मीनप्रसाद बिकको घर बुधबार विद्युत तार सर्ट हुँदा पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट करीव सात लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीय सरकार जनताको हरेक सुख दुःखमा साथमै रहेको अनुभुति गराउन आफुहरु तत्कालका लागि चाहिने खाद्य सामग्रीसहित पीडित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गिरीले विपतको बेला सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममै बोल्दै गाउँपालिकाका उपाध्यक्ष पिमा वली खड्काले विपतको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सद्भाव र सबैको सहानुभूतिको भाव देखाउन आग्रह गर्नुभयो । यस्तै वडा नं। २ का अध्यक्ष डम्बरबहादुर खत्रीले घटनाका पीडित परिवारलाई सक्दो सहयोग उपलव्ध गराउनु सबैमा आग्रह गर्नुभयो ।

गाउँपालिकाबाट एक क्वीन्टल चामल, पाँच किलो दाल, पाँच किलो नुन, दुई थान ब्ल्याङकेट, तीन थान झुल, तीन थान बाटा, दुई थान बाल्टी, म्याट तीन थान, दुईवटा टावेल, दुईवटा खाट, दुईवटा डसना, तीन वटा सिरानीलगायत गरी करिव २५ हजार बरावरको सामग्री हस्तान्तरण गरिएको छ ।