२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

बर्दियामा लेस्बियन विवाह दर्ता

बर्दियामा समलिङ्गी (लेस्बियन) महिला–महिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेशअनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो। ५ वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन्।

स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारीअनुसार विवाह दर्ता गरिएको बताए। ‘दर्ता गर्ने र प्रमाणपत्रमा अस्थायी विवाह दर्ता लेखेर जारी गर्न पञ्जीकरण विभागको प्राविधिक शाखाबाट जानकारी आयो,’ नेपालीले भने, ‘समलिङ्गी महिलाको विवाह दर्ता भएको यो पहिलो हो।’ ३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए। उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्रअनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एशियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। माया र सुरेन्द्र जन्मँदा छोरा हुन भने दीप्ति र सुप्रिता दुवै छोरी हुन्। दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हुन्। पहिलो विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी) समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको छ। पहिलो विवाह दर्ता गर्न राय दिएको पञ्जीकरण विभागले दीप्ति र सुप्रिताको विवाह दर्तामा भने राय दिन समय लियो। समलिङ्गी विवाह दर्ता गरेका दीप्ति र सुप्रिता ५ वर्षदेखि जीवनसाथीको रूपमा बसिरहेका छन्।