२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु

घोराहीमा तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले भलिबल खेलकुदको विकासका लागि दाङ कांग्रेसले थालनी गरेको प्रयास सराहनीय भएको भन्दै प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको विकासका लागि भूमिका खेल्ने बताए । स्वास्थ्यसँगै अनुशासनका दृष्टिले महत्वपूर्ण खेलकुदबाट राजनीतिमा लगेका नेताहरूले सहयोग र समन्वय सिक्न सके राजनीतिक रुपमा सफल भइने बताए ।

साथै , मुख्यमन्त्री चौधरीले विकास प्रेमी नेताका रुपमा रहनुभएका खुमबहादुर खड्काको स्मृतिमा भएको प्रतियोगितालाई अझै व्यवस्थित बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरुभएको प्रतियोगिताका बारेमा संयोजक राजु आचार्यले जानकारी गराएका थिए ।
खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिबल टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेस्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो ।

त्यसैगरी दोस्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिस्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो । प्रतियोगिताअन्तर्गत सोमवार चार वटा खेल हुनेछन । जसमा बिहान साढे सात बजे बबई गाउँपालिका र दंगीशरण गाउँपालिका, साढे ८ बजे राजपुर गाउँपालिका र लमही नगरपालिका, दिउँसो साढे २ बजे बबई गाउँपालिका र राप्ती गाउँपालिका, साढे ३ बजे लमही नगरपालिका र घोराही उपमहानगरपालिकाबीच खेल हुने भएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म सञ्चालन हुनेछ । घोराही समन्वय समिति अन्तर्गत रहेको सहिद मञ्चमा भइरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चीस हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले १ लाख २५ हजार, तृतीय हुने टिमले नगद ५० हजार र सान्त्वना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गत वर्ष घोराही उपमहानगरपालिकाले उपाधि जितेको थियो ।