२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

‘बलिदान’बाट विराजका छोरा समीरले डेब्यू गर्ने

‘प्रेमगीत’ निर्माता सन्तोष सेनको निर्देशनमा बन्न लागेको फिल्म ‘बलिदान’बाट अभिनेता विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । शुक्रबार निर्माण कम्पनी आसुसेन फिल्मसले भट्टको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको अभिनय रहने पुष्टि गरेको हो । पोस्टरमा समीर हिंसात्मक अवतारमा देखिएका छन् ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य तथा द्वन्द्वको तालिम गरिरहेका थिए । निर्देशक सेनले लामो समय लगाएर उनलाई छनोट गरेको बताए । ‘फिल्मको कहानीमा एक पात्रका रूपमा युग पुरुषलाई छान्न प्रयास गरेका थियौँ । फिल्मको पात्रका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिने थियो । हामीले खोजेका चारै गुण समीरमा भेट्यौं ।’

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर फिल्म बन्ने सेनको भनाई छ । उनले फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् । आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्ममा निर्माताको रुपमा पवन ब्राडफोर्ड बिस्ट तथा सहनिर्माता प्रेम पुरी छन् ।

खासमा समीर पिता (विराज भट्ट) को निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’बाट डेब्यू गर्ने तयारीमा थिए । तर, अब उनको डेब्यू ‘बलिदान’बाट हुने भएको छ । जसले गर्दा ‘१२ गाउँ’को निर्माण धकलिने देखिन्छ । विराजले केही हप्ताअघि समीरको तस्वीरहरु सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको थियो । उनलाई अरु फिल्मबाट समेत प्रस्ताव पुगेको छ ।