म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोस्ट मल बनाउन थालिएको हो ।
बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोस्ट मल बनाउने तालिम प्रदान गरेपछि स्थानीयवासीले केरा खेतीबाट फल र थाम दुवैबाट आयआर्जन गर्न थालेका हुन् ।
बेनी नगरपालिकाको सहयोगमा स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले आयोजना गरेको दुई दिने तालिममा खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन् । यही वडाको भकुण्डेमा बेनी नगरपालिकाको ‘उपप्रमुखसँग आमा समूह कार्यक्रम’ मार्फत केराको थामबाट रेसा निकालेर धागो र सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ ।
केरा पकेट क्षेत्रको रूपमा विकास भएको खबरा क्षेत्रमा उत्पादन भएका केरा बिक्री भएपछि खेर जाने थामबाट समेत आयआर्जन हुने भएपछि स्थानीय उत्साहित बनेका केरा पकेट क्षेत्र विकास कार्यक्रमका संयोजक सोवित शर्माले बताउनुभयो । राससबाट