२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

अझै केही दिनसम्म गर्मी कायमै रहने

कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ ।

पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढीको तापक्रम ४३ दशमलव ९ डिग्री र नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाण्डौको तापक्रम ३४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।

मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद गोविन्द झाले बताउनुभयो ।

डाक्टरहरुले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिएमा डाक्टरहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।