२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

भेरी नदीमा बेपत्ता दुई पुरुषको शव सशस्त्र प्रहरीले निकाल्यो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ को भेरी नदीमा बेपत्ता भएका दुई जना पुरुषको शव सशस्त्र प्रहरीले निकालेको छ ।
हिजो नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी भेरी नदीमा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरले आज दुवै जनाको शव निकालेको हो ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवामा रहेको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा एक जना बालकको शव फेला परेको छ । खाल्डोमा बरपौवाका नौ वर्षीय गणेश विकको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव निकालेको हो । उनी हिजो बेलुकी ५ बजेतिर पुल बनाउन खनेको खाल्डोमा खसेका थिए । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–५ बछेलामा रहेको झरनाबाट खसेका व्यक्तिको शव सशस्त्र प्रहरीको नम्बर ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । उनको परिचय भने खुलिसकेको छैन ।