२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

‘फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, सुधार गर्छौँ’ : कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याटरलाई दोष दिन नमिल्ने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा कप्तान पौडेलले टोलीमा आत्मविश्वास भए पनि मैदानको स्थितिले जीत हात पार्न नसकेको बताए । अमेरिका र वेस्ट इन्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको भन्दै उनले नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे ।

उनले भने, ‘पहिलो खेलमा पनि टिममा आत्मविश्वास थियो तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिचमा कुनै टिमले राम्रो स्कोर बन्न सकेको थिएन । सबै खेलको कुरा गर्दा हाम्रा बलरले राम्रो गरे ।’ फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै कप्तान पौडेलले आउँदा दिनमा सुधार गर्ने प्रतिबद्धता पनि जनाए । नेपालले उत्कृष्ट खेलाडी लिएर विश्वकपमा गएको पौडेलले बताए । राम्रो खेल्ने खेलाडीलाई टोलीमा सधैँ ठाउँ खुला रहेको उनको भनाइ छ ।