२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

ससुराको गोठमा आगो लगाएको अभियोगमा बुहारी पक्राउ

दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा बुहारी पक्राउ परेकी छन् । बङलाचुली गाउँपालिका ५ साकिने निवासी ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगो लगाएको अभियोगमा उनकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटीबाट गोठको छानामा आगो सल्काइदिएकी थिइन् ।
आगलागी हुँदा गोठ पूरै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले खेमालाई पक्राउ गरेको छ । आगलागीबाट ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।