२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

लुम्बिनी प्रदेशमा राजीनामा बोकेर गएका एमालेका मन्त्रीलाई बिदाइ भोज

लुम्बिनी प्रदेशमा सरकार छोड्ने भन्दै राजीनामा बोकेर मुख्यमन्त्री निवास पुगेका नेकपा एमालेका मन्त्रीलाई मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोज दिनुभएको छ । सङ्घीय सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनीमा पनि एमालेका मन्त्रीले सरकार छोड्न लगेका हुन् ।

मन्त्रीले सरकार छाड्ने भएसँगै मुख्यमन्त्री महराले आफ्नो निवासमा बिदाइ भोज आयोजना गर्नुभएको हो । आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताउनुभयो ।

बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी हुनुभएको छ ।

मन्त्रीहरूले मुख्यमन्त्री महरालाई राजीनामा पत्र बुझाउनुभएको छ । केन्द्रमा एमाले र कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार केन्द्रसहित सात वटै प्रदेश सरकारबाट एमाले बाहिरिएको उहाँहरूको भनाइ छ ।