नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोसहित त्रिशूली नदीमा खसेका दुई बस बेपत्ता भएको आज १६औँ दिन पुगेको छ भने भारतीय टोली खोजी कार्यमा आएको आज एक हप्ता पुग्दैछ । हालसम्म २४ जना यात्रुको शव फेला परेको छ । ती मध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।
नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेसनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास गरेपनि अहिलेसम्म फेला पार्न सकेको छैनन् ।
बस खोज्नका लागि भारतीय टोलीले ४० किलोको चुम्बक मगाएको छ । उक्त म्याग्नेटिक डिभाइसको प्रयोग गरी आज बिहान साढे ९ बजेदेखि बेपत्ता बसको खोजी जारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार भारतीय टोलीको आजको खोजी कार्यसँगै थप दिन नेपालनै रहेर खोज्छन् वा फिर्ता जान्छ भन्ने कुरा साँझसम्म टुंगो लाग्ने छ । भारतीय टोली एक हप्ता खोजी कार्यमा रहने गरेर नेपाल सरकारको अनुरोधमा चितवन आएका थिए । यादवका अनुसार खोजी कार्यलाई थप निरन्तरता दिने कि रोक्ने भन्ने कुरा पनि साँझ सम्म टुंगो लाग्ने छ।
सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशुली नदीमा २८ असारमा खसेको बसमा ६५ यात्रु सवार रहेको र त्यसमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए ।