२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

रुकुम पूर्वमा चार दिनदेखि बिजुली अवरुद्ध

सांकेतिक तस्वीर ।

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले बिजुलीको पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभीए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।

रानीकोट खोपिचारमा गएको साउन ९ गतेको पहिरोले सडक बन्द भएको, निरन्तरजसो पानी पर्ने गरेको र अप्ठारो भिर भएकाले विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले बताउनुभयो । प्राधिकरणको लाइन जोडेका सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाका उपभोक्ता समस्यामा परेका छन् ।

बिजुली र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । उपकरण अभावले समस्या भएको तर सकेसम्म आज बेलुकासम्म बिजुली नियमित गर्नेगरी काम भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो । बन्द सडक खुलाउन भने अझै केही दिन लाग्ने उहाँको भनाइ छ । पहिरो झरेको ठाउँ रुकुमकोटदेखि ६ किलोमिटर पश्चिममा पर्छ ।