दाङ शान्तिनगरको रगैंजा बजारमा विधुतको फ्युज सेवा सुरु भएको छ । सोमबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले फ्युज सेवा कार्यालयको उद्घाटन गर्नुभएको हो । शान्तिनगर – ५ रगैंजामा सो कार्यालय स्थापना भएसंगै अब विद्युतिय समस्याका लागी तुलसीपुर अथवा हापुरे पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विद्युत प्राधिकरणका प्रमुख गोशलीले बताउनुभयो ।
विद्युतको तार चुडिएमा, पोल ढलेमा, विद्युत गइरहनेजस्ता समस्या देखिएमा सो कार्यालयबाटै समाधान हुने उहाँले बताउनुभयो । रगैंजामा स्थापना गरिएको सो कार्यालयबाट शान्तिनगर गाउँपालिकासंगै बबई गाउँपालिका–७ को मलै र दंगीशरण गाउँपालिकाका केही क्षेत्रलाई सेवा प्रदान गर्ने प्रमुख गोशालीले बताउनुभयो । एकजना कर्मचारी नियुक्ती गरेर कार्यालय स्थापना गरिएको र अहिले भाडाको घरमा कार्यालय रहेपनि छिट्टै आफ्नै भवन स्थापना गरेर सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
यस्तै पालिका अध्यक्ष प्रमोद बस्नेतले कार्यालय स्थापनासँगै नागरिकलाई अब सहज हुने अपेक्षा गरिएको बताउनुभएको छ । विधुतको फ्युज सेवाका लागि शान्तिनगर गाउँपालिका वडा नं. ५ का पूर्व वडा अध्यक्ष तथा समाजसेवी गिरीराज बस्नेतले एक कठ्ठा भन्दा बढि जग्गा दान गर्नु भएको छ । छिट्टै भवन स्थापना गरेर आफ्नै भवन ग्राहकलाई सेवा दिन बस्नेतले र आग्रह गर्नु भयो । कार्यक्रममा शान्तिनगर – ५ का वडा अध्यक्ष ओपेन्द्र वहादुर, वडा नं. ६ का वडा अध्यक्ष शेर वहादुर भण्डारी, वडा नं. ७ का वडा अध्यक्ष तारा वहादुर वली, अन्य जनप्रतिनिधि तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।