२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

हिराकुमारीलाई आक्रमण गर्ने बाघ २४ घण्टापछि नियन्त्रणमा

दोधाराचाँदनी नगरपालिका– २ कमलशाहकी २६ वर्षीया हिराकुमारी शाह (साहु) माथि आक्रमण गर्ने बाघ २४ घण्टापछि नियन्त्रणमा आएको छ। बाघको आक्रमणबाट उनको मृत्यु भएको थियो । हिराकुमारीलाई आक्रमण गरेको दोस्रो दिन (२४ घण्टा) मा सो बाघलाई नियन्त्रणमा लिइएको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत एवं सुचना अधिकारी मनोजकुमार ऐरले उखुबारीमा लुकेर बसेको बाघ शुक्रबार बिहान ९ः३५ बजेतिर डार्ट हानेर नियन्त्रणमा लिएको बताए। ‘पहिलो दिन बाघ नियन्त्रणमा लिन सकिएन, दोस्रो दिन खोजी शुरु गरेको एक डेढ घण्टामै नियन्त्रणमा आएको छ,’ उनले भने, ‘पहिलो डार्टमै बेहोस भयो, त्यसपछि नियन्त्रणमा लिन सफल भएका छौँ।’

हिराकुमारीको मृत्यु भएकै दिन निकुञ्जका चार हात्तीसहित डार्ट प्राविधिक टोली, सुरक्षा निकाय खटिएका थिए। पहिलो दिन फेला नपरेपछि उखुबारीमा राँगो छाडिएको थियो। राँगोसमेत खाएको बाघलाई शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो। मानिसमाथि आक्र्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको चिडियाखानामा लैजाने तयारी भइरहेको सुचना अधिकारी ऐनले बताए।

आफ्नै खेतबारीमा धान गोडीरहेकी हिराकुमारीलाई घिसार्दै उखुबारीमा लगेको बाघ अन्दाजी १२ देखि १४ बर्ष, झण्डै २ सय किलो तौल, २८४ सेन्टिमिटर लामो, काँधको उचाई १२२ सेन्टिमिटर, छातीको गोलाई ११२ सेन्टिमिटर, पुच्छरको लम्बाई ९८ सेन्टिमिटर, अगाडीको खुट्टाको दुई नङग्रा नभएको, पछाडीको बायाँ खुट्टामा एउटा नंग्रा नभएको रहेको छ । उक्त बाघको शरिरको केही भागमा चोट लागेको छ।