२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

दाङका एक वडा अध्यक्ष वैदेशिक रोजगारीका लागि विदेश पलायन

दाङका एक वडा अध्यक्ष वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ वैदेशिक रोजगारीकालागि वेलायत गएका छन् । घरको आर्थिकभार थाम्न नसकेर विदेश गएको पारिवारीक स्रोत जनाएको छ ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचानमा एमालेबाट गुरुङ निर्वाचित थिए । निर्वाचनको ऋण, छोरा, छोरी अध्ययन तथा आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि उनि वेलायत गएका हुन् । गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी समेत थिए । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो ।

करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडा अध्यक्षको पदले ऋण तिर्दैन,’ सङ्गीताले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’ वडा अध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । वडा अध्यक्ष गुरुङले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् ।