२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते

बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट लागेको छ । घाइतेहरुको भारतको लखनउमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शनिबार बेलुकी राप्तीसोनारी वडा नम्बर ५ बिनौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेको बताए । घटनाका बारेमा सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घाइते हुने दुबै जना नेपाली कांग्रेस निकट तरुण दलमा आवद्ध युवा हुन् ।

यसैविच तरुण दल बाँकेले एक विज्ञप्ती निकालेर घटनाको भत्सर्ना गरेको छ । अध्यक्ष विरेन्द्र बहादुर शाह र सचिव विनोद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न ब्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । अन्यथा आन्दोलनमा जान बाध्य हुने तरुण दलको चेतावनी छ । यसैगरी घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै तरुण दल बाँकेले प्रदर्शन गरेको छ । कोहलपुरमा दिउँसो तरुण दलका कार्यकर्ताले एक घण्टा सडकमा प्रदर्शन गरेका हुन् ।